Saturday, September 11, 2010

Shiva Circuit Express

भक्तपुरको शिब सर्किटमा यात्रा गर्दा

हिन्दु धर्मका अराध्यदेब शिबलाई सम्झिने शिबरात्री नजिकिएको सन्दर्भमा अघिल्लो सनिबार राजन प्रजापति, श्रीकृष्ण सितिखु र पंक्तिकार भक्तपुर शिबसर्किट नाम दिइ शिब यात्रामा गयौं । भक्तपुर वरपरका शिब मन्दिर क्षेत्रहरुमा भैरहेका सामाजिक गतिबिधि बुझ्नको लागि हामीले यात्रा गरेका थियौं ।
बिहान सबेरै हामी सुर्यबिनायक चोकमा भेला भयौं । त्यहाँबाट पत्रकार बालमुकुन्द सुवालको दायाँ पारेर, हामीले काल्हाँचा महादेबको दर्शन गरी यात्राको शुरुवात ग¥यौं। त्यसपछि हामी काल्हाँचा कुण्डमा पुग्यौं, जहाँ स्नान गरेमा खटिराजन्य रोग निको हुन्छ भन्ने मान्यता रहेको छ । हाल त्यहाँ सुर्यबिनायक क्षेत्रबाट बग्ने ढल मिसिएिको कारण रोग निको हुने होइन, लाग्ने पो देखिएको छ ।
त्यहाँबाट हामी केयूको संगीत बिद्यालय रहेको चुपिंघाट शिबालयमा पुग्यौं । त्यहाँ हामीले ७९ वर्षीय मिलबहादुर चिकङबन्जारलाई भेट्यौं । चिकङबन्जारहरुको पुख्र्यौली पेशा तोरीको तेल मन्दिरहरुमा आरतीका लागि र मानिसका घरघरमा भुटनका निम्ति पु¥याउनु रहेको उनले सुनाए । तर, त्यो पेशा अहिले लोप भएको छ । तेल पु¥याउने क्रममा उनी चुपिंघाटबाट रामघाट जान हनुमन्ते खोलाको तिरबाट जान्थे । उनको सल्लाह बमोजिम हामी पनि त्यही बाटो हुदै रामघाट पुग्यौं । प्रदुषित वाताबरणका कारण केही बेर हामीलाई सास फेर्न समस्या भयो । दिनँहु जस्तो केयूमा संगीत साधना गर्न जाने बिद्यार्थीहरु भने प्रदुषित क्षेत्रको बारेमा बोल्न तयार छैनन् ।
रामघाट वारीपट्टी रहेको भक्तपुर नगरपालिको टुरिष्ट चेकपोष्टले भने हनुमन्तेमा फोहर फाल्ने गरेको पाइयो । त्यहाँबाट हामी मंगलतीर्थमा अबस्थित मंगलेश्वर महादेबको दर्शन गर्न गयौं । बेवास्ताका कारण मन्दिर भने फोहर भएको छ ।
मंगलतीर्थ अबलोकन गरेर हामी तेखाचोतिर लाग्यौं । त्यहाँ हामीले पत्रकार लक्ष्मी गारुको पसलमा केही अखबार खरीद ग¥यौं । गारु बाहेक अरु पत्रकारले भक्तपुरमा पत्रिकाको ब्यापार गरिरहेको हामीलाई जानकारी छैन । पत्रकारले पत्रिकाको ब्यापार पनि गर्नु राम्रो हो तर अरुले गरेका छैनन् ।
गारुको पसलबाट हामी बाराहीको द्योछें, खौमा हुदैं, भक्तपुर दरवार क्षेत्रमा पुग्यौं । त्यहाँ हामीले पद्म स्कुल अगाडि पूजा नगरिएको शिबलिंग देख्यौं । त्यसको अगाडि पद्म स्कुलको गेटसंगै उग्र भैरबको कलात्मक मूर्ति रहेको छ । त्यो शिबको रिसाएको बेलाको अबतार हो । दरवार क्षेत्रमै रहेको सानो पशुपति मन्दिर नजिकै शिब गेष्ट हाउसबाट निस्केका फोहर थुपारेको पायौं । त्यही क्षेत्र वरपर भक्तपुर नगरपालिकाले सवारी पार्क गर्न निषेध गरेको छ । नीलकृष्ण ताम्रकारले भने सोही स्थानमा आफ्नो कार पार्किङ गर्ने गरेका छन् । नगरपालिकाका पहलमानहरुले त्यहाँ घुमेर सामान बेच्नेहरुलाई धम्क्याएर हटाउने गरेका छन् । तर, धनाढ्यहरुलाई कारबाही गर्न भने उनीहरु लागि परेका छ्रैनन् ।
श्री पशुपतिनाथले पैसावाललाई सदबुद्धि दिऊन भन्ने आशा गर्दै हामी भैरबनाथको दर्शनका लागि गयौं । मन्दिरका देउपाला आशामरु खाताखोले हामालाई प्रसाद दिए । गोमारीका आशामरु सामाजिक कार्यहरुमा सहयोग गर्न सक्रिय छन् । अर्धबैस उमेरका उनका परिवारमा कोही छैनन्, त्यसैले उनी देउपाला बनेका हुन् ।
आशामरुसंग बिदा लिएर हामी हनुमानघाटको ठुलो शिबलिंग हेर्न गयौं । त्यहाँ सक्कली ढुङगेमूर्ति चोरी भएपछि सिमेन्टले ढलान गरिएका मूर्तिहरु स्थापना गरिएका छन् । तर, हराएका मूर्तिहरु खोज्ने कार्य पुलिस प्रसाशनले गरेको छैन ।
हराएका मुर्तिहरु बिदेसका संग्राहलयहरुमा सुरक्षित रहेको होला भन्ने चर्चा चलाउदै जाँदै गर्दा मकोगल्लीमा रामचन्द्र लवजू भेटिए । उनले हामीलाई केही समय अघि जेलाँको भैरबको मूर्ति चोरी भएको कुरा सुनाए पछि त्यहाँ जाने कार्यक्रम स्थगित भयो । त्यस पछि हामी दत्तात्रयमा गयौं । हामीले दत्तात्रयमा हराएका मूर्तिहरु फेला परोस भनेर प्रार्थना ग¥यौं पनि ।
दत्तात्रय मन्दिर अगाडिको भीमसेनपाटी भने सार्बजनिक शौचालयको रुपमा परिणत भएको छ । त्यही शौचालय हुदै याताछें गयौं । त्यहाँबाट चोर्चा महादेबस्थान जाने गल्लीमा पुग्दा त्यहाँ जमिन्दार रबिन्द« पुरीले ढोका लाएर तालाबन्दी गरेको पाइयो । सार्बजनिक बाटोको अर्कोतिर पनि पुरीले अतिक्रमण गरेर तालाबन्दी गरेका छन् । स्थानीय प्रशासनले पुरीलाई कारबाही गर्न सकेको छैन । हामी बैकल्पिक बाटोबाट चोर्चा गयांैं ।
महादेबको पछाडिको गल्लीमा मैना बोहजूले अमिलो बनाउने गर्दथे । नेमकिपामा सक्रिय हुदै जाँदा भनपाका जागिरे भए पछि उनले अमिलो बनाउने पेशा छोडे । त्यहाँ पुग्दा हामीलाई अमिलोको सम्झनाले मुख रसायो । चोर्चाका किसानहरुले तोरीको सागको माला बनाएर झ्याल झ्यालमा झुण्ड्याएर राखेका देख्यौं ।
चोर्चाको ढुङगेधारामा एक जोडी शिबलिंग स्थापना गरिएको छ । धाराबाट झरेको पानी पोखरीमा जम्मा गर्ने ब्यबस्था मिलाइएको छ । मारीकिबाको महादेब जाने बाटोमा भने जमिन्दार कपिल बनेपालीको द राइजिङ स्कूलले चेन गेट राखेर तालाबन्दी गरेको छ । मारीकिबाको महादेब हेर्न याछेंबाट जानु प¥यो । सो मन्दिर परिसरमा तासका पत्ताहरु फालिएको पायौं । एकान्त ठाउँ भएकाले दिनभर त्यहाँ तास खेल्नेहरु भेला हुने गरेको स्थानीयबासिन्दाहरुले बताए ।
गोमारी महादेब भक्तपुर सहरको मध्ये भागमा रहेको छ । त्यस ठाउँमा गो अर्थात् पानको ब्यापार गर्ने दिवाकरहरु बस्ने भएकाले त्यो ठाउँको नाम नै गोमारी रहन गएको बताइन्छ । भक्तपुरकै सबैभन्दा गहिरो धारा त्यही रहेको छ ।
लालाछेंको धौ अर्थात दही र दुगुमलाको बजीमिलबाट चिउरा किनेर हामी डेकोचा हुदै ज्योर्तिलिङगेश्वर महादेब पुग्यौं । दुई खोलाको दोभानमा रहेको उक्त मन्दिर चाँगु, छालिङ र झौखेलको संगमस्थल हो । त्यहाँ सानो पोखरी पनि छ ।
चाँगुको किलेश्वर महादेवको मन्दिर पूर्बढोकाको अगाडि रहेको छ । किंबदन्ती अनुसार एक राक्षसले चाँगु डाँडा हल्लाएर दुख दिन थाले । त्यो दुखबाट मुक्ति दिलाउन महादेब प्रकट भै डाँडामा किला जस्तै गाडिएर बसे । त्यसबाट चाँगुबासी खुसी भएर किलेश्वर मन्दिर स्थापना गरेको भन्ने जनश्रुति रहेको छ ।
त्रिशुललाई भगवान शिबको प्रतिक मानिएको छ । संसारको सबैभन्दा लामो त्रिशुल भक्तपुर छालिङको मुलाकोट डाँडामा स्थापना गरिएको छ । त्यस त्रिशुलको लम्वाइ करीब पच्चीस फीट रहेको छ । २०५७ सालमा त्यहाँ त्रिशुल स्थापना भए पछि कालीनाथ बाबा आश्रम बनाएर बसेका छन् । वाबाजीले आश्रममा आउने भक्तजनहरुलाइ सदमार्गको शिक्षा दिने गरेका छन् । त्यहाँ रहेको आश्रममा काठको बिशाल भैरबको मुर्ति राखिएको छ । त्रिशुल संगै कालो रंगको पञ्चमुखी हनुमानको मुर्ति पनि राखिएको छ । त्यसको छेउमा नारायण मन्दिर छ ।
त्रिशुल डाँडाबाट झरेपछि छालिङको साँढे खोला र ठुलो खोलाको संगमस्थल मच्छिनारायण मन्दिर परिसरमा रहेको पाँच शिवलिंग मन्दिरमा पुग्यौं । उत्तर दिशाबाट बगेको ढुङगे धाराको जल शिवलिंगमा चढायौं ।
त्यहाँबाट हामी खरीपाटीको ब्यारेकसंगै रहेको यातु महादेबस्थान पुग्यौं । त्यस मन्दिरको पुर्बतिर रहेको तपा डम्फो नामको करीब एक सय मिटर अग्लो डाँडो भने समथर गरेको पायौं । जग्गा दलालहरुले घडेरी निमार्ण गर्न सरकारी डाँडो अतिक्रमण गरी समाएको प्रचार मकर श्रेष्ठले गरेको छ । श्रेष्ठले प्राकृतिक सम्पदा र सरकरी सम्पत्तिको रुपमा रहेको डाँडोलाई जग्गा दलालहरुको कमिसन नपाएका राजनैतिक नेताले दिएकोजानकारी पछि सम्झेका रहेछन् । तर अब त्यो डाँडो सबैको सम्झनामा मात्र रहनेछ ।
१५ बर्ष अघि सुटिङ भएको नेपाल टिभीको बुहुचर्चित गीत हामी उभिएको धरातालमा आज साहसिलो पाइलो सारौं, सफा सुग्घर बाताबरणको एक चहकिलो आयाम कोरौं भन्ने बोलको गीतमा मात्र अव त्यो डाँडामा देखिनेछ । यस्तै कुरा गर्दै हामी चोखाटे हुदै ब्रम्हायणीको महादेब स्थान पुग्यौं । त्यहाँ खोला किनारमा नयाँ भोजघर बनेको रहेछ ।
ब्रम्हायणीबाट हिटीचा, माथुडाँडा हुदै हनुमान भट्टामा पुग्यौं । त्यस क्षेत्र धुलो र धुँवाको कारण प्रदुषित भएको छ । त्यस क्षेत्रमा परम्परागत रुपमा भैसी पालन र दुध बेच्ने पेशा अंगालेका लवजूहरुले आफ्नो पेशालाई निरन्तरता दिइरहेका छन् ।
भट्टाहरु हेर्दै हामी चितपोलेश्वर महादेब पुग्यौं । त्यहँँबाट हामीले पुर्बमा रहेको भक्तपुर सहर र पश्चिममा रहेको १०८ फीट अग्लो शिबको मुर्तिलाई नियाल्यौं । चितपोलेश्वरबाट हामी पलाँसे हुदै नंखेलेश्वर महादेब गयौं । त्यहाँबाट सिपाडोलको डोलेश्वर पुग्यौं । डोलेश्वरले अहिलेसम्म पनि केदारनाथको शीर हो भन्ने सरकारी मान्यता पाएको छैन । सिपाडोलका घडेरीहरु बिक्री गर्न केदारनाथको हल्ला चलाइएको हो भन्ने हामीले अनुभुति ग¥यौं ।
डोलेश्वरबाट पाटी पञ्ज्याङ हुदै आशापुर गयौं । त्यहाँ हामीले आशापुरेश्वरसंग प्रेसवालाहरु सुध्रिउन भनेर बर माग्यौं । त्यस पछि ठाडो उकालो चढी ढुङगेखर्क हुदै जंगलको बाटोबाट रानीकोट गयौं । रानीकोट भक्तपुरको दक्षिण भेगको अग्लो डाँडा हो । त्यसको तल बाघ भैरबको ढुङ्गा आकृतिको बिशाल मूर्ति रहेको छ ।
बाघभैरबबाट जंगलको बाटो हुँदै लाँकुरी भञ्ज्याङ भएर अनन्तलिङगेश्वर पुग्यौं । त्यहाँ काल भैरवको सानो मूर्ति रहेको छ । त्यहाँबाट हामी अन्तिम गन्तब्य सुवर्णेश्वर पुगी सुर्यबिनायक फर्कियौं ।
हाम्रो एक दिने यात्राको सन्देश भने नजिकको तीर्थलाई हेला नगरौं भन्ने रहेको छ । शिवरात्रीको दिन शिवको दर्शन गर्न पशुपतिमा निकै भीड लाग्ने गर्दछ । यस दिन भगवानको दर्शनको लागि कम्तीमा पनि चार पाँच घण्टा लाइन लागेर बस्नु पर्ने हुन्छ । लाइन बस्नु भन्दा नजिकमा रहेका शिब मन्दिरको यात्रा गर्दा सामाजिक परिबेश बुझ्ने मौका मिल्छ ।

No comments: